Breaking

कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन


काठमाडौँ — प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

बजेट प्रस्तुत गर्ने क्रममा उनले प्रदेशको १० वर्षे कृषि रणनीति तर्जुमा गरिने उल्लेख गरे । यस्तै खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको उल्लेख गरे ।

यस्तै बाली र पशुपक्षी बीमाका लागि प्रोत्साहन गर्न ३ करोड, कृषि क्षेत्रको विकासका लागि किसानलाई ब्याज अनुदानका लागि ९ करोड रकम विनियोजन भएको छ । बजेट भाषण गर्दै उनले सरकारी, निजी र सहकारी, कृषिमा साझेदारी कार्यक्रम लागू गर्ने र एक पालिका एक उत्पादन नमुना कार्यक्रम सञ्चालनका लागि १३ करोड बजेट विनियोजन गरेको बताए ।