देश

सैन्य साझेदारी प्रस्तावको एमालेले गर्यो आलोचना


काठमाडौँ — नेकपा एमालेले अमेरिकासँग सरकारले गर्ने भनिएको सैन्य साझेदारी प्रस्तावको कटु आलोचना गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुखसँग समय मागेर एमाले सांसद प्रदीप ज्ञवालीले यो गठबन्धन दललाई सरकारमा बस्ने नैतिकता नभएको बताए । उनले नेपाल र अमेरिकाबीच हुने भनिएको स्टेट पार्टनरसीप कार्यक्रमको विरोध गर्दै दुई देशबीच हुन लागेको भनिएको मस्यौंदा सार्वजनिक भएपछि नेपाली समाज चिन्तित र गम्भीर रुपले आशंकित भएको बताए ।

उनले भने– यो तहसम्म यो सरकार पुग्ला भनेर कसैले पनि अपेक्षा गरेको थिएन । नेपालको संविधान, नेपालको परराष्ट्रनीति, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्रनीति र विश्वशान्तिका मान्यताहरुलाई पालना गर्नु सरकारको दायित्व हो । उनले सरकारले हस्ताक्षर गर्न भनेर बाहिर आएको मस्यौंदाले अत्यन्तै गम्भीर प्रश्न उठाएको बताए । उनले नेपाली सेनालाई एउटा देश अन्तर्गतको राज्यको गार्डसँग समकक्षी बनाउन खोजिएको बताए ।