Breaking

बसन्तपुरमा अनसनरत पीडित निहारिकाका समर्थकले अनसन तोडे


काठमाडौँ — काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडितको लागि न्याय माग्दै अनसन बसेका दुई जनाले अनसन तोडेका छन् । पीडित युवतीसहित तीन जना बसन्तपुरमा अनसन बसेका थिए । पाँचौं दिनमा पीडित युवतीका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन् ।

आफूहरूले पीडित युवतीकै अनुरोधमा अनसन तोडेको ओझाले बताइन् । उनीहरूलाई भेट्न मंगलबार मानव अधिकारकर्मी मोहना अन्सारी घटनास्थल पुगेकी थिइन् । त्यसपछि आफूहरूले अनसन तोडेको उनले बताइन् । महिला आयोग, मोहना अन्सारीलगायत आज भेट्न आउनुभएको थियो। अनेरास्ववियुको सदस्य पनि हुँ। इन्चार्ज माधव ढुंगेल, नविना लामा लगायत पनि आउनुभएको थियो । उहाँहरूले भोलि संसदमा कुरा उठाउँछौं। तर तिमी यहाँ बसेर भएन। वार्तामा जाँदा हामीलाई अप्ठ्यारो हुने भयो, असहज भयो,’ उनले भनिन्,‘आफैं संयोजक भएर आउँछौ भने वार्ता गर्न जान तयार हुन्छौं नत्र गर्दैनौं भनेको हुँदा तोडेको हुँ ।’

२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका(३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ। आफूमाथि बलात्कार गर्नेलाई अदालतले सफाइ दिएकाले न्याय माग्दै उनी अनसन बसेकी हुन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की ती युवती अनसन बसेको मंगलबार पाँचौं दिन हो। यसअघि माइतीघरमा अनसन बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिँदा आफू र आफ्नो बच्चालाई प्रहरीले लछारपछार पारेको भन्दै उनले फेसबुक लाइभ गरेकी थिइन् । त्यसपछि उनीहरू बसन्तपुरमा अनसन बसेका हुन् । उनीहरूले पाँच वटा माग राखेर अनसनमा बसेका हुन् । लामो समयदेखि आफ्नो न्यायको माग गर्दै विभिन्न निकायमा धाउँदा पनि नपाएपछि अनसनको बाटो रोजेको उनीहरू बताउँछन् ।

आफ्ना २१ महिने बच्चाको डिएनए जाँच हुनुपर्ने उनको माग छ । त्यस्तै चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने उनले माग गरेकी छन् । जिल्ला अदालत धनुषाले उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरूद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ । त्यस्तै, उनले शिवराजलाई पक्राउ गर्नुपर्ने, आफ्नो मुद्दालाई कमजोर बनाउने वकिल, प्रहरी र न्यायाधीशलाई कारबाही गर्नुपर्ने र आफ्नो बालकको हेरचाह, शिक्षा लगायतको जिम्मा सरकारले लिनुपर्ने माग राखेकी छन् ।