काठमाडौँ — नेपालमा वर्षेनी खेतीको सिजनमा बीउ र मलको अभाव हुने गर्दछ । हरेक वर्ष यो समस्या राजनीतिक दलहरुको एजेण्डा बन्ने गरेता पनि समस्याको समाधान भने आजको मितिसम्म हुन सकेको छैन । भित्तेपात्रोमा उल्लेख नगरे पनि नेपालको वार्षिक तिथिजस्तै बनेको छ, मल अभाव । हरेक वर्ष कृषकलाई दुख दिने यो पर्वले उत्साहभन्दा बढी तनाव दिएर जान्छ । एक त नेपालमा कृषी गर्न आकाशे पानीको नै भर पर्नु पर्ने, त्यसमा पनि बीउ र मल अभावले कृषक जुनै वर्ष यही समस्याबाट गुज्रिनुको बाध्यता । यस वर्ष पनि खेतीको समय भई सक्यो ।
खेतीको समय भइसक्दा कृषकहरु फेरि पनि बीउ र मल अभाव पर्वको समस्यामा परेका छन् । समस्या समाधानका लागि कृषकहरु निरन्तर आवाज उठाइरहेका नै छन् । तर पनि कृषीका लागि आवश्यक बीउ र मल भने अहिलेसम्म पाउन सकेका छैनन् । हरेक वर्ष जस्तै यस वर्ष पनि मल पाउन किसानले ठूलो संघर्ष गर्नुपरेको छ । तर विडम्बना जती संघर्ष गरे पनि मल पाउने अवस्था छैन ।
संसद्मा सांसदहरुले पनि किसानको आवाज नउठाएको भने होइन । कृषीमन्त्रीको जवाफ मागिरहेका छन् । तर कृषीमन्त्री भने जिउँदो मुर्ति झै देखिन्छन् । । उनी न संसद्मा आएर बोल्छन्, न कुनै औपाचारिक कार्यक्रममा यस विषयको कुरा उठाउछन् । नेपाली जनताले देशमा कृषीमन्त्री भएको कुनै अनुभूति गर्न सकेका छैनन् । कृषक र सांसद् गला सुक्ने गरि कराइरहँदा कानमा तेल हालेर बसेको सरकार र कृषीमन्त्री आजसम्म पनि मौन छन् । उनीहरु केही नभए झै हाइसञ्चोमा छन् । त्यसै मौनतालाई ताड्दै सभामुखले कृषकलाई तत्काल मल उपलब्ध गराउन सरकारलाई रुलिङ नै गराएका छन् ।
सरकारले बीउ र मलबारे ठूला ठूला गफ र भाषणबाजी गरेपनि नतीजा भने हातमा लाग्यो शून्य नै छ । आजसम्म मल ल्याउन कुनै परिणाममुखि प्रयास भने गर्न सकेको छैन । केही हप्ता अघि मात्रै मल ल्याउन भन्दै भारत पुगेका कृषिमन्त्री महेन्द्रराय यादव रित्तो हात फर्किए । यसबारे के प्रयास भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बीउ र मल उपलब्ध गराउन सरकार हरेक वर्ष यसरी नै लाचार भएर बस्ने गरेको छ । कृषी प्रधान देश भनेर नेपालको चिनारी रहे पनि सरकारको यो लाचारिपनले गर्दा नेपालमा वर्षेनी कृषि उपार्जनमा समस्यामा पर्दै आएको छ ।


प्रतिक्रिया