Breaking

उद्यमीलाई प्रोत्साहन गर्ने बजेट, कार्यान्वयनमा चुनौती


काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरुले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भएपनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ ।

आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै युवा उद्यमीहरुले गुनासो पोखेका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिन सक्ने आशंका व्यक्त गरे । उनीहरुले प्रोत्साहीत कार्यक्रम आएपनि कार्यान्वयनमा समस्या रहेको भन्दै उद्योगको क्षमता वृद्धि गरेर युवाहरुलाई स्वरोजगारसहित उद्यमी बनाउनुपर्ने जोड दिएका छन् ।

त्यस्तै,युवा उद्यमी आभूषण ज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताए । युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आएपनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने उनको भनाई छ । कंंशाकारले सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीहरुलाई देखाउनको लागि राम्रो भए पनि वास्तविकतामा केही नभएको गुनासो गरेका छन् ।

त्यस्तै अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१÷०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरेपनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको बताए । ९ वर्षदेखि बजेटमा व्यवस्था गरेपनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको उनको भनाई छ । नेपालमा युवा उद्यम क्षेत्रमा लाग्नको लागि लगानीको खाँचो भएपनि बैंकमा लगानीको लागि धितो आवश्यक भएकाले युवा उद्यमी बन्न समस्या रहेको उनको भनाई छ ।

केही उद्यमी भने आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि हित भएको भन्दै सन्तुष्ट छन् । सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्न पनि उनीहरुको माग छ । आगामी आर्थिक वर्षको बजेट आएसँगै चुनौति र कार्यान्वयनका विषयमा बहश सुरु भएको छ । यद्दपी युवा उद्यमी भने अघिल्ला वर्षको बजेटको परिपाटीलाई नियाल्दै कार्यान्वयनका सन्दर्भमा शंका व्यक्त गरिरहेका छन् ।