काठमाडौँ — एक व्यक्तिले क्रूरताको सबै हद पार गरेका छन् । भारत, पश्चिम बंगालबाट एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । त्यहाँ एक श्रीमानले २५ वर्षीया श्रीमतीको दाहिने हात काटिदिए । श्रीमतीले सरकारी अस्पतालमा नर्सको जागिर पाएपछि उनले यस्तो गरेका हुन् । जागिर पाएपछि श्रीमतीले छाडेर जान्छिन् भन्ने डरले उनले हात काटेको बयान दिएका छन् । हात नभए न जागिर नै रहन्छ न त छाडेर नै जान्छिन् भन्ने कुरा उनको मनमा थियो । उनले आफ्ना अन्य दुई साथीसँग मिलेर यो अपराध गरेका हुन् ।
घटना गत शनिबार कोलकाताबाट करिब १७० किलोमिटर टाढा पूर्वी बर्दवानको केतुग्राम गाउँमा भएको हो । रेणुका खातुनलाई छिमेकी र उनका भाइले काटिएको हातसहित नजिकैको सरकारी अस्पतालमा लगिएको थियो । त्यहाँ रेणुकाको अवस्था नाजुक भएपछि बर्दवानको अर्को अस्पतालमा रिफर गरियो । उनलाई ११५ किलोमिटर टाढा दुर्गापुरको आइक्यू सिटी अस्पतालमा लैजानुअघि परिवारले थप दुई नर्सिङ होममा पनि लिएर गएको थियो । अस्पताल खोज्दा–खोज्दै ६ घण्टाभन्दा बढी समय खेर गयो । ल्याउन ढिलो भएको बताउँदै अब रेणुकाको हात जोड्न नसकिने चिकित्सकले बताएका छन् ।
रेणुकाका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान शरीफुल, उनका बाबुआमा र दुई साथीको खोजी सुरु गरेको छ । अभियुक्तहरु सबै फरार छन् । रेणुकाले दुई वर्षअघि कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालबाट नर्सिङमा स्नातक गरेकी थिइन् । उनले दुर्गापुरको एउटा सानो निजी नर्सिङ होममा काम गर्थिन् । तर सरकारी जागिर पाएपछि निजीबाट राजीनामा दिएर गत महिना उनी श्रीमानसँग बस्न घर फर्किन् । रेणुका खातुनका दाई चन्द मोहम्मदले आफ्नी बहिनीलाई जागिर नगर्न निकै दबाब दिइएको बताए । श्रीमानसँग झगडा भएपछि रेणुका माइतीघर गइन्, तर शनिबार आएका शरीफुलले फकाएर श्रीमती लिएर गए ।
रेणुकाका बुबा अजिजुल हकले आफ्नो उजुरीमा भनेका छन्, शनिबार शरीफुलले आफ्नो घरमा दुईजना साथीलाई बोलाएको थियो । तीनै जनाले सँगै मादक पदार्थ पिए । साथीहरूले ठट्टा गर्दै तेरो श्रीमतीले सरकारी जागिर पाएकी छिन्, अब तिमीलाई छोडेर जान्छिन् भन्ने कुरा सुनाए । यो कुरा शरीफुलको मुटुमा लाग्यो । त्यसपछि रेणुका सुतिरहेको बेला शरीफुल र दुई साथीले उनको दाहिने हातमा हथौडा प्रहार गरेका हुन् । त्यसपछि धारिलो हतियारले हात काटिदिए ।


प्रतिक्रिया