काठमाडौँ — काठमाडोँ महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याइसकेपछि जनगुनासो सुन्ने र सुनाउने क्रम जारी छ । सञ्चालन गरेको पाँच दिनसम्म आईपुग्दा करिब १८ सयको हाराहारीमा नागरिकले गुनासो सुनाएका छन् । काठमाडोँ महानगरबासीले कस्ता कस्ता गुनासो टिपाउने गरेका छन् त ?
काठमाडौँ महानगरबासीको समस्या समाधान गर्नलाई जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै राजधानीबासीको समस्या समाधान गर्ने उद्घोष गरेर बालेन्द्र साह चुनावी मैदानमा होमिएका थिए ।
उनलाई भरोसा गरेर महानगरबासीले बालेन्द्रलाई मेयर बनाए । पूर्वघोषित योजनाहरुलाई मेयर साहले क्रमश कार्यान्वयमा उतार्न खोज्दै छन् । आफ्नो घोषणा पत्रमा उल्लेख गरेझै बालेन्द्रले जनताको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएका छन् । जेष्ठ १६ को पहिलो बोर्ड बैठकबाट नै कल सेन्टर सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसै अनुसार महानगरले सोमबारदेखि सुरु गरेको कल सेन्टरमा आज हामी पुग्दा महानगरका कर्मचारीहरु गुनासो टिप्न व्यस्त थिए ।
हामी त्यहाँ करिब आधा घण्टा रहँदा गुनासो राख्नका लागि फोनको घण्टी कयौं बजिरह्यो । आजभोली कल सेन्टरमा जनगुनासो राख्न दैनिक एक सयको हाराहारीमा यस्तो फोनको घण्टी बज्ने गर्छ । कल सेन्टरले खाली नागरिकको गुनासको मात्रै सुन्ने काम गरेको छैन । उनीहरुको समस्यालाई सम्बन्धित निकायकोमा पुर्याएर समाधान खोज्ने काम पनि गरेको छ । सके तत्काल नसके पनि १÷२ दिनमा समस्याको समाधान पनि खोजेको छ । कल सेन्टरमा फोन आइसकेपछि त्यो महानगरको सर्भर कल डिटेल रेकर्ड (सीडीआर) मा रेकर्ड हुन्छ ।
गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसपछि गुनासो बुझि उनीहरुले समास्या समाधान गरेर आइसके पछि गुनासो गर्नेलाई फेरि फोन गरेर प्रगति विवरण बारे जानकारी पनि गराइन्छ । कल सेन्टरमा अहिले बढी जस्तो फोहोर व्यवस्थापन, सडकको खाल्डाखुल्डी र कोभिड भ्याक्सिन कार्डको क्यूआर कोडका सम्बन्धि समस्या लिएर फोन आउने गरेको छ ।
सुरुका दिनमा यस्ता कलहरु सयौंको मात्रामा आउने गरे पनि पछिल्लो समय भने क्रमश घट्दै गएको छ । शुक्रबार सम्ममा करिब १८ सयको हाराहारीमा कल आएको डाटा महानगरसँग छ । महानगरलाई गुनासो सुनाउन १६६००१०५५११ मा निशुल्क सम्पर्क गर्न सकिन्छ ।


प्रतिक्रिया