काठमाडौँ — बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन् । बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन् । शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन् । शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय जाने तय भएको छ । सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नेपालखबरलाई जानकारी दिए ।
गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन् । त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ । शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजमा सहभागी भएसँगै फ्लिनका त्यो दिनका कार्यक्रम सम्पन्न हुनेछन् ।
२८ गते शनिबार बिहान यी अमेरिकी पाहुना हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ । त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन् ।
जेठ २९ गते आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन् । त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ । बिहानको खाना पनि त्यहीँ हुनेछ । बिहानको खानापछि सिधै उनलाई शिवपुरी लगिने प्रवक्ता शिलवालले जानकारी दिए ।
नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने छन् । शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन् । इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन चारदिने भारत भ्रमण सम्पन्न गरेर नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमण तय भइसकेको अवस्थामा अमेरिकी सेनाका उच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन् ।


प्रतिक्रिया