काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताएका छन् ।
हिजो सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतका श्रष्टाकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताए । मन्त्री आलेले भने,’ नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ ।’
उनले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराए ।
आफ्ना गीत, सङ्गीत तथा सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति योगदान गर्ने सम्पूर्ण गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई विशेष सम्मानसमेत व्यक्त गरे ।
राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पुर्याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब श्रष्टाहरुले आफ्ना गीत, कला, सिर्जना तथा सङ्गीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराए ।


प्रतिक्रिया