काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको साथ खोजेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै बोलाएर छलफल गरेपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् । अध्यक्ष ओलीले जेठ १० गते जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बालकोटमा बोलाएर भेटेका थिए । त्यसको एक हप्तापछि ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएर भेटेका थिए । मधेस केन्द्रित दुई दलका अध्यक्षसँग यसरी ओलीले भेटघाट गरेपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् ।
जसपा नेपालका अध्यक्ष यादव स्थानीय तह निर्वाचनमा काँग्रेसबाट धोका पाएको पीडामा छन् । गठबन्धन भत्किने हो कि भन्ने डरले प्रधानमन्त्री देउवाले तत्कालै गठबन्धनको बैठक बोलाएर सबै असन्तुष्टिलाई थामथुम पारे । अध्यक्ष उपेन्द्र यादवले यही गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म निरन्तरता दिने भएपछि प्रधानमन्त्री देउवा ढुक्क भएर अध्यक्ष ठाकुरलाई समेत फकाउनतिर लागेका छन् । उनले जेठ २१ गते बालुवाटारमै बोलाएर ठाकुरसँग छलफल गरे । छलफलमा प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । अध्यक्ष ठाकुरले मधेसको माग पूरा नभएसम्म सरकारमा सहभागी हुन गाह्रो हुने भनेपछि प्रधानमन्त्री देउवाले माग पूरा गर्ने आश्वासन समेत दिएको स्रोत बताउँछ ।
त्यसको पृष्ठभूमि तयार गर्नका लागि लोसपाले जेठ २४ गते प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोसपालाई सरकारमा ल्याउनका लागि छलफल नभएको बताए । उनले भने, लोसपालाई सरकारमा ल्याउन न पार्टीमा कुनै छलफल भएको छ, न सरकारमा । एउटा पार्टीका नेताले अर्को पार्टीका नेतालाई भेट्नुको अर्थ सरकारमा जाने हुँदैन ।


प्रतिक्रिया