Breaking

आरोप लगाएको होइन, जिब्रो चिप्लिएछ: अध्यक्ष नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यस पछिसम्म लैजान चाहेको बताएका छन् । बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए ।

‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयासहरु भएपनि आफुहरु कमजोरी सच्याउँदै तथ्य र तर्कमा अघि बढ्न सक्नुपर्ने बताए । पार्टीले अघि सारेको क्रान्तिकारी राजनीतिको बाटो इमानदारिता, समाजसेवा र समाज रुपान्तरणको बाटो भएकाले त्यसबाट विचलन नहुन विद्यार्थीहरुलाई निर्देशन पनि दिए ।

अध्यक्ष नेपालले आफुहरु पनि प्रतिगमनको मतियार भएको भए देशको विनाश हुनसक्ने भएकाले गठबन्धन बनाएर अघि बढ्नुपरेको बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अहिलेबाटै लाग्नुपर्ने भन्दै अहिलेसम्म आफ्नो पार्टीबाट मन्त्री बनेर राम्रो काम गरेकाहरूलाई धन्यवाद समेत दिए ।

आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको निर्णय मान्ने र कुर्सीमा टाँसिएर नबस्ने नेता नेपालको भनाइ छ । ‘मिडियामा हाम्रो महासचिवको अभिव्यक्तिलाई लिइकन केही तलमाथि बाहिर आएको होला, उहाँले मलाई प्रस्ट भन्नुभएको छ मैले कुनै मन्त्रीमाथि आरोप लगाएको छैन भनेर’,अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीको आदेश मानेनन् भने के गर्ने भनेर मिडियाले सोध्दा महासचिवले ‘मान्छन्’ भनिदिएको भए हुन्थ्यो भन्दै ‘तर उहाँले मानेनन् भने ‘के गर्ने’ भन्दिनुभएछ, बिग्रिएछ । उनले जिब्रा पनि बडो विचित्रको हुने भन्दै कहिले कहिले जिब्रो चिप्लिन सक्ने भएकाले होस पुर्याउनुपर्ने बताए ।