Breaking

उपत्यकाको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सहमति


काठमाडौँ — उपत्यकाको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमति भएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाहोर व्यवस्थापनका लागि सोमबार तीनै पक्षले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलको रोहबरमा मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको हो ।

सहमति अनुसार शहरी विकास मन्त्रालयले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्षमा विभिन्न पाँच वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख बजेट विनियोजन गर्नेछ।

यस्तै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गा अधिग्रहणगर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने जनाएको छ।

साथै प्रभावित क्षेत्रका बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्नेछ।

यसैगरी, काठमाडौं महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने, पूर्वाधार विकासका लागि अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने, फोहोरलाई माटोले छोप्नेलगायतका व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ।

यसैगरी महानगरले साउन १ गतेदेखि फोहोरलाई स्रोतमै छुट्याएर लैजाने व्यवस्था गर्नेछ भने ६ महिनाभित्र सिसडोलको ‘पोस्ट क्लोजर’ को प्रकृया सुरु गर्ने छ।

यसैगरी प्रभावित क्षेत्रको तर्फबाट ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले जेठ २४ गतेदेखि नै उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइटमा उपयुक्त विधि अनुसार विसर्जन गर्न सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।