काठमाडौँ — नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्न पठाएको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन । समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न आइतवार प्रधानमन्त्रीलाई नामावली बुझाएको थियो । तर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफलबाट मन्त्री परिवर्तन नगर्ने निर्णय गराएपछि एकीकृत समाजवादीमा विवाद बढेको छ । साथै मन्त्रीमण्डल पुर्नगठन कति आवश्यक भन्ने वहस समेत सुरु भएको छ ।
पार्टी बैठकले नै मन्त्री बनाउने निर्णय गरेपछि दौरासूरुवाल लाएर शपथको लागि तयार भएका नेकपा एकीकृत समाजवादीका चार नेताहरुको मन्त्री बन्ने सपना अलपत्रै रह्यो । आईतबार एकीकृत समाजवादीले रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडालाई फिर्ता बोलाएर नयाँमन्त्रीको नाम बालुवाटारमा पठाएको थियो । स्वास्थ्य राज्यमन्त्रीको हैसियतमा रहेका भवानी खापुङलाई विरोध खतिवडाको ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने झाँक्रीको ठाउँमा मेटमणि चौधरी शहरी विकासमन्त्री, आलेको ठाउँमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवर श्रममन्त्री दिने तयारी गरिएको थियो । नामसंगै सिफारिस भएकाहरु आफ्नो तयारीमा लागे भने फेरिने क्रममा रहेकाहरुले आफ्नो कार्यकाल सफल भएको प्रतिक्रिया दिन भ्याए ।
आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चित्त बुझाए भने स्वास्थ्यमन्त्री खतिवडाले बजेट सेसन चलिरहेको बेला बजेट पेश गरेको सरकार, बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा विश्वमै नहुने संज्ञा दिएका थिए । तर मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेपछि घटनामा ट्वीस्ट आयो । देउवाले छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै गठबन्धनबाट समेत तत्काल मन्त्री नफेर्ने निर्णय गराउन भ्याए । जसमा एकीकृत समाजवादीका नेताहरुले भने अहसमती जनाएका छन ।
यता अध्यक्ष माधवकुमार नेपालले समेत आइतबार मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका थिए । तर आज विहान प्रधानमन्त्री निवाश वालुवाटारमै गठबन्धनका शिर्षस्थ नेताहरुको वैठक बसेर संसदमा बजेटबारे छलफल भईरहेको र सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्ने भएकोले तत्काल मन्त्री परिवर्तन नगर्ने सहमती गरेका छन ।
यता जसपा भित्र पनि मन्त्रीमण्डल परिवर्तनको हुनुपर्ने कुरा उठेको छ भने कांग्रेस भित्रै पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको छ । तर पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहानामा भर पर्ने कांग्रेसी नेताहरुको भनाईवीच माओवादी नेता राम कार्कीले भने आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गरेका छन ।
यसरी मन्त्री फेरवदलका विषयमा पक्ष र विपक्षमा चर्चा भईरहँदा एकै दलका नेताहरुमा समेत मतभेद रहेको छ । मन्त्री बन्न नपाएकाहरु फेरवदलको पक्षमा रहदाँ लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले वर्तमान सरकार रहेपनि, हेरफेर भएपनि जनताले केही नपाउने बताएका छन । यता नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले ले भने मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला भएको टिप्पणी गरेका छन ।
एकीकृत समाजवादीबाट सिफारिस भएकाहरु भने यसअघि पनि आकांक्षी थिए । पछि उनीहरुलाई नेपालले नै अर्कोपटक मन्त्री बनाउने आश्वसन दिएर पार्टी विवाद मिलाएका थिए । तर नाम नै सिफारिस गरेपछि पनि पछि हटेपछि अध्यक्ष नेपालको निर्णयमा केटाकेटिपन देखिएको छ भने एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाईरहेका वेला मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् ।


प्रतिक्रिया