काठमाडौँ — काठमाडौँ महानगरमा वर्षौदेखि समस्याको रुपमा रहेको सार्वजनिक शौचालयको समस्या अब भने समाधान हुने लक्षण देखिएको छ । विभिन्न निजी सेक्टरका व्यवसायीसँग समन्वय गरेर महानगरले शौचालयको समाधान खोज्न लागेको हो । काठमाडौँ खुल्ला दिशापिसाब मुक्त क्षेत्र भएको वर्ष दिन बितिसक्यो । तर, उचित व्यवस्थापन नहुदा खुल्लामा नै शौच गर्न बटुवाहरु बाध्य थिए । राजधानीमा पहिलो पटक आएको व्यक्ति होस् वा दैनिक जीवनयापन गर्ने ती सबैको ठूूलो समस्या हिडडुल गर्दा शौच नै हुने गर्छ । यस्तै समस्या समाधानको एजेण्डा बोकेर काठमाडौँको मेयरमा निर्वाचित भए बालेन्द्र साह । सार्वजनिक शौचालयको विषयलाई पनि विशेष मुद्दा बनाएका बालेनले महानगरको पहिलो बोर्ड बैठकमा निजी होटल व्यवसायीसँग समन्वय गरि व्यवस्थापन गर्न सकिने निर्णय गरे ।
महानगरले सार्वजनिक निकायहरुलाई आफ्नो स्वामित्वमा रहेका शौचालयलाई सार्वजनिक प्रयोग गर्न दिन आह्वान गर्याे । र त्यो अहिले विस्तारै कार्यन्वयनमा आउन पनि आउन थालेको छ । शपथ ग्रहण गरको दिन बालेनले मुख्य गरि होटल व्यवसायीलाई मात्र आह्वान गरे पनि अहिले विभिन्न क्षेत्र यो अभियानमा सामेल भएका छन् । जसमा होटेलसहित, बैंक, अटो मोबाइल जस्ता कम्पनीहरु देखिएका छन् । शुक्रबार देखि सर्वसाधारण लागि सेवा शुरु गरिसकेको सौरभ ज्योतिको होन्डा कम्पनीले सोमबार महानगरसँग आधिकारिक रुपमा नै समन्वय गरेको छ ।
यसरी सबै क्षेत्र उत्साहीत बनेर आइसकेपछि काठमाडौँ महानगरपालिकाले पनि यसमा थप चासो देखाएको छ । महानगरले एक साताभित्र निजी र संस्थाका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गर्ने तयारीका साथ सार्वजनिक शौचालयको लोगो तयार गरेको छ । लोगोमा निलो रङको गोलो साइन बोर्डमा सार्वजनिक शौचालय लेखिएको सेतो रंगको अक्षर र सेतै रंगको महिला र पुरुषको चिन्ह अंकित छ । अब आफ्नो शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुक होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, सपिङ कम्प्लेक्स, निजी कम्पनी एवं गैरसरकारी संघसंस्थालगायतले अनुमतिका लागि ७ दिनभित्र महानगरमा सम्पर्क राख्नु पर्ने छ ।
महानगरलाई व्यवस्थित गर्न हरेक मानिसको उत्तिकै कर्तव्य र जिम्मेवारी पनि छ । महानरको पहलमा व्यवयासीले देखाएको यो सकारात्मक कार्यले लाखौको बसोबास रहेको भएको काठमाडौँमा सबैभन्दा ठूलो समस्याको रुपमा प्रकट भएको यो समस्या अब भने केही हदसम्म भए पनि समाधान हुने आश गर्न सकिन्छ । बालेनलाई विश्वास गरेर व्यवसायीले यस कार्यको स्वागत गरेका छन् , जसले गर्दा आममानिसले अब भने निर्धक्क भएर सफा र व्यवस्थित शौचालयमा प्रयोग गर्न पाउने भएका छन् ।


प्रतिक्रिया