Breaking

भैरहवाको विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो


काठमाडौँ — भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ कम पर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए। यहाँ जजिरा एयरवेजले यही महिनाबाट उडान सुरू गरेको हो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवाशुल्क छुट पाएको पनि शाहले बताए।

जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पाएको हो, उनले भने। हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ। यसअघि नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीलाई एक वर्षसम्म सेवाशुल्क छुट गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेको थियो।

गौतम बुद्ध नयाँ विमानस्थल भएको र वायुसेवा कम्पनीहरूको आकर्षण बढाउन गरिएको यो प्रस्ताव जेठ ३ गते मन्त्रिस्तरीय निर्णयबाट पारित भएको थियो। योसँगै जेठ १४ गतेबाट यो निर्णय कार्यान्वयनमा आएको प्रवक्ता शाहले बताए।