काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले इम्बोस्ड नम्बरको विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् । थापाले इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको बताए । उनले भने, ‘जबर्जस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन् । त्यसअघि सरकारले पुनर्विचार गरोस् ।’
उनले राज्यको स्रोत र साधनले समेत उक्त समयभित्र सम्भव नभएको बताए । दण्ड र जरिवानाको डर देखाएर सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिएको उनको भनाई छ । थापाले इम्बोस्ड नम्बर राख्न निकै महंगो पर्ने भएकाले पुनर्विचार गर्न समेत आग्रह गरे । सांसद् थापाले ठेक्का पाएको कम्पनी र ठेक्का सम्झौतामाथि पनि प्रश्न उठेको बताए ।
यातायात व्यवस्था विभागले असारभित्रै बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी गरेपछि चौतर्फि आलोचना भइरहेको छ । ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्दा तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने ब्यहोराको सूचना प्रकाशित भइसकेको छ । नेपालका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको कम्पनी विश्व बैंकले समेत कालोसूचीमा राखेको छ।


प्रतिक्रिया