Breaking

आफ्नो पार्टीलाई गठबन्धनबाट धोका भएको एकीकृत समाजवादीको निष्कर्ष

योहो संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए । ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं,’ खनालले भने, ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैंले पनि समीक्षा गर्दैछौं ।’

उपमहासचिव गंगालाल तुलाधरले पनि आफूहरु इमान्दार भए पनि गठबन्धनमा आफूहरुमाथि धोका भएको टिप्पणी गरे । ‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि रु अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि रु जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने ।

समग्र समीक्षाका लागि पाँच दिन भित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ । तुलाधरका अनुसार प्रदेश १ का लागि जयन्ती राई, मधेश प्रदेशका लागि रामचन्द्र झा, बागमती प्रदेशका लागि गंगालाल तुलाधर, गण्डकी प्रदेशका निम्ति प्रमेश हमाल, लुम्बिनी प्रदेशका लागि विजय पौडेल, कर्णाली प्रदेशका लागि प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका निम्ति बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ ।