Breaking

म करोडौँको गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन: हर्क राई


काठमाडौँ — धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज साम्पाङ राईले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उनले भने ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाइँको सेवक, जय धरान”, उनले भने । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।

चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । “हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो”, अधिकृत खतिवडाले भने । मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।

प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेका छन् । लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् ।