Breaking

सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना खटाइयो


काठमाडौँ — सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन् । गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ ।

यस्तै, बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । झडप भएर दुई पटक रोकिएको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी छ । त्यहाँ पनि राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी राउण्ड हवाई फायर गरिसकेको छ ।

झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको छ । नेपाली सेनाले स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका–६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिले मतदान जारी छ । सेना पुगेपछि त्यहाँको अवस्था अहिले सामान्य छ । यस्तै, रामनगर गाउँपालिकास्थित पुरानो गाविस।

भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले भने जारी छ । मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो । त्यसैगरी, मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका–३ को गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान सुरु गरिएको छ ।