देश

प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिकाको तीन वटा स्थलमा मतदान स्थगित


काठमाडौँ — मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं। ६ स्थित ठाकुरदेवी मावि र ६ नं। वडा कार्यालय मतदान केन्द्रका तीन वटै स्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनुभयो । उहाँका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदंगा भएको खबर सुनियो ।

सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि मतदान स्थगित भएको हो । स्थगित हुनुभन्दा अघिसम्म तीन वटै स्थलमा २० प्रतिशत भोट खसेको थियो । भोट हाल्न नसक्ने अशक्त तथा ज्येष्ठ नागरिक व्यक्तिको हकमा इच्छाइएको एक जना मात्रै व्यक्तिले भोट हाल्ने सहमति भएपनि एकै व्यक्तिले चार जना सम्मको भोट हालिदिएपछि गठबन्धनका प्रतिनिधिहरुले विरोध जनाएपछि विवाद भएको थियो । उक्त विवादपछि वडाध्यक्षका उम्मेदवार हेमकुमार राईले गठबन्धनका प्रतिनिधिहरु रामप्रसाद राई र नरेश राईलाई हातपात गरेको गठबन्धनको आरोप छ ।