काठमाडौँ — उत्तरी गोरखाका चार केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका वडा १ र वडा नं. ४ का चार मतदान केन्द्रमा मतदान सकिएको स्थानीयबासीले बताएका छन् । वडा नं। १ को साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा ७४ मत खसेको बताइएको छ । त्यस्तै वडा नं. ४ को नाम्रुङगुम्बा मतदानकेन्द्रमा रहेका ८२ मतदाता मध्ये ७५ मत खसेको स्थानीय छिरिङ लामाले जानकारी दिए। ‘अरु बाँकी मतदाता नआउने निश्चित भएको छ’, उनले भने, ‘मतपेटिका बाँध्ने तयारी गरिएको छ ।’
त्यस्तै, १०५ जना मतदाता रहेको सोही वडाको हिमचुली प्रावि मतदानकेन्द्र छाकको पनि मतदान कार्य सम्पन्न भएको छ । त्यहाँ ३० महिला र २८ पुरुष गरी ५८ मत खसेको स्थानीयले जानकारी दिएका छन् । सोही वडा अन्तर्गत १८२ मतदाता रहेको वुद्ध आधारभूत मतदानकेन्द्रको पनि मतदान सकिएको छ । त्यहाँ जम्मा ५५ महिला र ६५ पुरुष गरी एकसय २० मत खसेको उनले बताए । मतदान कार्य सम्पन्न भएपनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने उनीहरुले बताएका छन् ।


प्रतिक्रिया