Breaking

अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, कार्यकर्ता भौतिक आक्रमणमा उत्रिए, सुरक्षामा सकस


काठमाडौँ — लामो समय प्रतिक्षारत स्थानीय तहको निर्वाचन भोलि हुँदैछ । निर्वाचन आयोगले निर्वाचन सौहार्द र शान्तिपूर्ण रुपम सम्पन्न गर्न हरसम्भव प्रयास गरिरहेका छन । तथापी चुनाव प्रचार प्रसार र मौन अवधिमा घटिरहेका अपराधिक क्रियाकलापले भने सुरक्षा चूनौति चासो थप बढाएको छ । निर्वाचन आयोग सहित राज्यको सबै संयन्त्र स्थानीय तह निर्वाचन सुरक्षित सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न रणनीतिक योजना सहित आ–आफ्नो कार्यक्षेत्रमा छन ।

मतपेटिका, मतपत्र सहित आवश्यक सबै सामाग्री बोकेर निर्वाचन आयोगका प्रतिनिधि मतदान स्थलहरुमा पुगेर भोलिको प्रतिक्षामा छन । लोकतन्त्रमा आवधिक निर्वाचन नियमित प्रक्रिया हो । उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चयनको प्रक्रिया हो, निर्वाचन । तर शुक्रबार हुन लागिरहेको निर्वाचनलाई दलहरुले राजनीतिक प्रतिष्ठाको विषय बनाउँदा मुलुक राजनीतिक धूव्रिकरणको चपेटामा मात्र परेको छैन अस्वस्थ राजनीतिक प्रतिस्पर्धा समेत बढ्दो छ ।

दलका नेता कार्यकर्ता एक–अर्काबीच भौतिक आक्रमणमा उत्रिएका छन । चुनाव प्रचार र मौन अवधिमा समेत दलका नेता कार्यकर्ताबीच ठाउँठाउँमा विवाद, कुटपिट र झडप भएका छन । फलतः निर्वाचन सुरक्षामा चुनौति समेत थपेको छ । तर सुरक्षा निकाय भने शान्तिपूर्ण ढंगले नै निर्वाचन सम्पन्न गर्ने विश्वासमा छन । यस्ता घटनाहरु विगतको निर्वाचनमा पनि नभएको होइन । तर तत्कालिन समयमा ा निर्वाचन बहिष्कार गर्ने विप्लब समुहदेखि सिके राउतसम्मलाई जोखिमका रुपमा लिएको थियो । तर यसपटक यी समूह आफै निर्वाचन प्रक्रियामा सहभागी छन ।

यो पटक निर्वाचन नै बहिष्कार गर्ने समुह नभए पनि राजनीतिक दलहरुको विभाजनका कारण झडपको घटना बढेका छन । हरेक निर्वाचनमा यस्ता खालका घटना हुने कतिपयको विश्लेषण छ । विगतको भन्दा अझ कम भएको र विस्तारै आफै कम हुँदै जाने जानकारहरु बताउँछन । राजनीतिक दलहरुको विभाजन र तिक्तताका कारण राजनीतिक अन्तरद्धन्द बढिरहेको छ । निर्वाचनको मुखमा दलका कार्यकर्ताबीचको द्धन्दले सुरक्षा चुनौतिका साथ आम मतदातालाई समेत त्रसित बनाएको छ ।

त्यसैले मतदान हुँदै निर्वाचनको मतपरिणाम पछि पनि निष्पक्ष र सुरक्षित निर्वाचनका लागि राजनीतिक दलका प्रतिनिधिहरुको ध्यानकर्षण हुन जरुरी छ । नियमनकारी निकाय चनाखो हुनुको विकल्प छैन ।