Breaking

मतदान केन्द्रमै मतदाता शिक्षाको व्यवस्था गरिएको आयोगको भनाइ



काठमाडौँ — निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि मतदाता शिक्षामा जोड दिन थालेको छ । मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदान केन्द्बाटै मतदाता शिक्षा दिने गरिएको आयोगले जनाएको छ । साथै आयोगले मतदाता परिचयपत्र वितरणको कामलाई पनि तीव्रता दिएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।

बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ । मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए ।

मतदान अधिकृत उप्रेतीले मतदाताहरुले नमूना मतपत्रमा मत हाल्न सिकएको जानकारी गराए । त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताइन । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरिन । त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरु छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भएकाले एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको देखिन्छ ।

नव मतदाताहरु आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।