देश

हप्तामा दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया


काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए ।

ढुङ्गानाले , ‘शिक्षा नियमावली अनुसार वर्षमा २२० दिन विद्यालय खोल्नुपर्छ र १८० दिन पढाउनैपर्छ । तर नयाँ व्यवस्थाले अब त्यो सम्भव छैन । पाठ्यक्रमको विकास गर्दा नै १८० दिनको पाठ्यभार राखेर डिजाइन गरिएको छ । तर अब वर्षमा औषतमा दुई सय दिन विद्यालय खुल्दा नतिजा प्रकाशन लगायतको कामका कारण १८० दिन पढाउन सम्भव हुँदैन । जसका कारण पाठ्यभार पूरा गर्न सकिँदैन ।’