Breaking

लुम्बिनीमा मोदीलाई स्वागत गर्न तयारी तीव्र


काठमाडौँ — आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ । बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ । मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ ।

बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्दोबस्तीका सामग्रीसहित ३० जना भारतीय सैनिकको टोली लिएर भारतीय वायुसेनाको इलुसियन विमान आइसी ७६ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो । भारतीय सैनिक, सवारी साधन र अन्य बन्दोबस्तीका सामग्री लिएर आएको विमान भने बुधबार नै दिल्ली फिर्ता हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । भारतीय सैनिकहरूको टोली भने जेठ ३ गतेसम्म नै लुम्बिनीमै रहने छ ।

प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै सैनिकहरूको टोली आएको हो । उक्त टोलीले कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन मिलाउने बताइएको छ । मोदी जेठ २ गते सोमबार हेलिकप्टरमार्फत् लुम्बिनी आउने छन् । हेलिकप्टर अवतरणको लागि लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै चारवटा हेलिप्याड बनाइँदै छ । अन्तर्राष्ट्रिय सभाहल नजिकै इँट्टा बिच्छाएर माथि ढलान गरी हेलिप्याड बनाइँदै छ ।

हेलिप्याडबाट अन्तर्राष्ट्रिय सभाहलसम्म आउनको लागि ढुंगा बिच्छाएर बाटो निर्माण भइरहेको छ । देशभर स्थानीय तहको निर्वाचनको माहोल तातिरहेका बेला लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरू भने भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीमा जुटेका छन् । यसअघि समेत मोदी लुम्बिनी आउने तय भए पनि स्थगित भएको कारण लुम्बिनी विकास कोषले मोदी आउने पक्का नहुँदासम्म मोदीको लुम्बिनी आगमनबारे औपचारिक रूपमा जानकारी दिएको थिएन ।

मोदी लुम्बिनी आएपछि भारत सरकारले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । उक्त बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने बताइएको छ । प्रधामन्त्री देउवा आफैंले पर्यटनमन्त्रीको कार्यभार सम्हालेका बेला बसेको लुम्बिनी विकास कोषको बैठकले बौद्ध बिहार निर्माणका लागि भारतीय सरकारलाई एउटा प्लट दिने निर्णय गरेको हो ।

८० मिटर बाई ८० मिटर क्षेत्रफलमा निर्माण हुने बिहारको कुल लागतको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आइबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ । अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन आइबिसी मार्फत् निर्माण गरिने बिहारसम्म पुग्ने बाटो र कम्पाउण्ड वाल बनाउने काम अहिले भइरहेको छ ।