Breaking

मतदातामाथि दलहरुको धावा, कानुनविद्ले जनाए आपत्ति


काठमाडौँ — स्थानीय निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरुको थिचोमिचो गर्ने शैलीलाई लिएर कानुनविद्हरुले आपत्ति जनाएका छन् । दलका साथसाथै सबै नागरिकले पनि निर्वाचन आचारसंहिताको पालना नगरेको उनीहरुको आरोप छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको आरोप लगाएका छन् ।

मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले स्थानीय स्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको बताए ।

स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उनको भनाई छ । उनले दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेका बताए । नेताहरुका बिचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उनले उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताइन् ।

उनले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौँ हजारको निर्वाचन गराउन सक्ने बताइन् । स्वच्छ निर्वाचन गराउन निर्वाचन आयोगले पहल गराउनुपर्ने र जनतापनि शिक्षित हुनुपर्ने उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)कि अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन आचारसंहिताको पालना गर्ने मुख्य दायित्व राजनीतिक दलको भएको बताएन् । उनले दलका साथसाथै सबै नागरिकको पनि निर्वाचन आचारसंहिता पालना गर्ने दायित्व भएको बताइन् ।

आचारसंहिताको उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कानूनी दायरामा ल्याउनुपर्ने उनले बताइन् । निर्वाचनलाई विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले निर्वाचनको सवल र दुर्लभ पक्ष देखाउँदै निर्वाचन पर्यवेक्षण गर्नुपर्नेमा उनले जोड दिइन् ।