देश

खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष


काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन् । सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् । पंखा राख्न बनाएको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको थियो ।

‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिबिक्रम शाहले आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’ सञ्जु बाँकेस्थित नेपालगञ्जकी हुन् । प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँच रिपोर्टका आधारमा मृत्युको कारणबारे थप अनुसन्धान गरिने एसपी शाहले जानकारी दिए । २४ वर्षीया सञ्जु झुण्डिएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । उनका परिवारले प्रहरीलाई ‘केही थाहा नभएको’ बताएका छन् । उनको शव पाटन अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।