काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । आफ्नो मताधिकार प्रयोग गर्न घर फर्किएका नेपालीहरुले रोजगारीको लागि विदेशीनु पर्ने बाध्यता हटोस् भन्ने अपेक्षा राखेका छन् ।।
स्थानीय निर्वाचन नजिकिएसँगै मतदातामा उल्लास देखिन थालेको छ । आफ्नो मताधिकार प्रयोग गर्न श्रमका लागि भारत पुगेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् । पछिल्लो तथ्याङ्क हेर्ने हो भने कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर ५ सय भन्दा माथि पुगेको छ ।
भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढीरहेकोले नेपाल आउनेहरुले अनिवार्य ७ क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरुले खोप लगायन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यद्दपी सरकारको आग्रह भने खासै पालना भएको भने छैन् ।
उत्साहित बनेर निर्वाचनका लागि घर फर्किएका उनीहरुले जुनकुनै उम्मेद्वारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरुको गुनासो छ । उनीहरुले उम्मेद्वारहरुले चुनावअघि विभिन्न प्रतिवद्धता जनाएपनि चुनावपछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश पोखेका छन् । नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ ।
दैनिक रुपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरुले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ । यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ । जसले राजनीतिक दल र नेताहरुमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन् ।


प्रतिक्रिया