देश

सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छुु भनेर लेख्ने यज्ञबहादुर बुढा पक्राउ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका बुढाले सामाजिक सञ्जाल फेसबुकमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोष्ट गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो । प्रहरी प्रमुख काफ्लेले बुढामाथि विद्युतीय कारबाही ऐनअनुसार कारबाही हुने बताउनुभयो । पक्राउ परेका बुढाले तुलसीपुरबाट राप्ती पहिचान नामको अनलाइन सञ्चालन गर्दै आएका छन् ।