देश

मतपत्रको छपाइ कार्य सम्पन्न


काठमाडौँ — निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । आज बिहीवार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत यसको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो ।

उहाँले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको बताउनु भयो ।

प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराउनु भयो । त्यस्तै उहाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताउनु भयो । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहीता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो । त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरुलाई आचारसंहीता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।