काठमाडौँ — पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाका नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डौ उपत्यकाको १८ पालिकाको फोहर व्यवस्थापन कार्य रोकिएको छ । अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटमा रहेको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।
काठमाडौँ महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र स्थानीयले फोहरको गाडी लैजान नदिने भनेपछि अहिले फोहर लैजाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिँदा आवतजावत गर्न समस्या भएको छ । फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।


प्रतिक्रिया