विदेश

छिमेकीको हमला सहने छैनौँ: तालिबान


काठमाडौँ — अफगानिस्तानका कार्यकारी रक्षामन्त्रीले आइतबार एकपटक पुनः इशारा इशारामै पाकिस्तानलाई चेतावनी दिएका छन् । उनले तालिबान प्रशाशन आफ्ना छिमेकी देशको हमलालाई नसहने स्पष्ट पारेका छन् । यो बयान यस्तो समय आएको हो जब केही दिनअघि मात्रै तालिबानले पाकिस्तानमाथि अफगानिस्तानमा बमबारी गरेको आरोप लगाउँदै विरोध जनाएको थियो । तालिबान प्रशासनले पाकिस्तानले अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको जसमा दर्जनौँको ज्यान गएको दाबी गरेको छ ।

अफगानिस्तननका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले काबुलमा एक कार्यक्रमका बेला भने, ‘हामी दुनियाँ र छिमेकी मुलुक दुबै तर्फबाट चुनौती र समस्याको सामना गरिरहेका छौँ । यसको स्पष्ट उदाहरण कुनारमा उनीहरुको तर्फबाट गरिएको हमला हो । उनले भने, ‘हामी यस्तो खालको हमला सहन सक्दैनौँ र हामीले यसपटक राष्ट्रिय हितलाई ध्यानमा राख्दै हमला सहेका छौँ । अर्को पटक सायद हामी सहन सक्दैनौँ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जब पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता याकूबको बयानमाथि जवाफ मागियो तब उनले भने, ‘पाकिस्तान र अफगानिस्तान दुबै मित्र राष्ट्र हुन् । दुई देशको सरकार र जनता आतंकवादलाई गम्भीर खतरा मान्छौँ र लामो समयदेखि योसँग जुधिरहेका छौँ । त्यसैले दुबै देशले आतंकवादको खतरासँग जुध्नका लागि मिलेर काम गर्न आवश्यक छ । एजेन्सी