काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसद् र सांसदहरूप्रति आभार व्यक्त गरेका छन् । नेपाल–अमेरिका संसदीयमैत्री समूहसँग शनिबार काठमाडौंमा भएको भेटघाटमा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
काठमाडौँ — नेपालका तर्फबाट छलफलमा सहभागी कांग्रेस सांसद् मिनेन्द्र रिजालले नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्र विकास, नवीकरणीय ऊर्जा लगायतका लागि एमसीसी अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको जानकारी दिए । कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए ।
‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्याउनेक्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तररुपमा रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ समूहका संयोजक सांसद रिजालले भने, ‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नवीकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एसियाका लागि भन्ने कुरा हामीले राख्यौं ।
त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नुभयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्याएको सहयोगबारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरु नेपाल भ्रमणमा आएका हुन् ।


प्रतिक्रिया