काठमाडौँ — ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा दुई जनाको मृत्यु भएको छ । बिहीबार भएको विस्फोटमा घाइते भएका भारतीय नागरिक २५ वर्षीय राजकुमार महतोको पनि पौने २ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै भारतको बिहारका ४५ वर्षीय बृज महतोको मृत्यु भएको थियो । प्लान्टमा अक्सिजन भर्दै गर्दा सिलिन्डर विस्फोट हुँदा अरु ६ जना घाइते भएका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेको छ । सबै जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
विस्फोटमा पर्सा घर भई अक्सिजन प्लान्टमा कार्यरत ४३ वर्षीय रमेश अधिकारी, ललितपुरको महालक्ष्मी नगरपालिका ८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिकाका १९ वर्षीय सुदीप तिमल्सिना, महांकाल गाउँपालिकाका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगाकी २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरी नगरपालिकाका ४९ वर्षीय गंगाराज शर्मा घाइते भएका थिए । शर्माको बिएन्डबी र अरुको पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।


प्रतिक्रिया