काठमाडौँ — अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतवार नाबालिगको तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो । नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ । बुबा, आमालगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुने कानुन व्यवसायीहरूको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायाङ्कनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि फागुन १५ गते शाह प्रहरीको सम्पर्कमा आएका थिए । नाबालिगको तर्फबाट कानुनी सहायता दिइरहेकी एक अधिवक्ताका अनुसार जाहेरवाला रहेका पीडित नाबालिगका बुवाले पनि होस्टाइल बकपत्र गरेका छन् । उनले पनि नाबालिगले जस्तै जबरजस्ती करणी नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका छन् । पीडित नाबालिग र नाबालिगको तर्फबाट जाहेरी दिएका उनका बुवाको होस्टाइल बकपत्रसँगै अभिनेता पल शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । मुख्यतः तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना बढी रहन्छ


प्रतिक्रिया