काठमाडौँ — राजनीति र कुटनीति एक–अर्काका परिपूरक हुन् । हरेक सार्वभौम र स्वतन्त्र मुलुकको कुटनीतिक क्षेत्र राजनीतिक नेतृत्व र नेतृत्वको व्यवहारले पनि निर्धारण गर्ने गर्दछ । तसर्थ कुटनीतिमा नेतृत्व संधै चनाखो र चलायमान हुनुको विकल्प छैन । तर हाम्रा नेतृत्वको कुटनीतिक व्यवहार भने त्यसअनुसार हुन सकेको छैन । मंगलबार बेलुका देखि यो तस्विरले सामाजिक सञ्जाल तताईरहेको छ । प्रभुत्व वर्ग, दलका नेता कार्यकर्तादेखि आम सर्वसाधरणले समेत यो तस्विरको खुलेर आलोचना गरेका छन । सामाजिक सञ्जालमा यो तस्विर पोष्ट्याएका सबैले देशका शीर्ष नेतृत्व र कुटनीतिक मर्यादाको खुलेर विरोध गरेका छन् ।
नगरुन् पनि किन ? एउटा राजदुतको विदाईमा नेपालका वहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री भईसकेका मुलुकका शीर्ष नेतृत्व कुटनीतिक मर्यादाको ख्यालै नगरी लाइन लागेर भारतीय राददूत विनयमोहन क्वात्राको विदाई गर्न राजदूताबास नै पुगे । मंगलबार साँझ प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भारतीय राजदूतको निवास लैनचौर पुगेका थिए । अर्को महत्वपूर्ण विषय राजनीतिक रुपमा जति नै पानी वारावारको अवस्था भए पनि राजदुत क्वात्राका विदाई गर्न भने गठबन्धन र प्रतिपक्ष एकै ठाउँमा देखिए । प्रमुख प्रतिपक्ष दलबाट एमाले उपाध्यक्ष सुवास नेम्बाङ्ग क्वात्राको विदाईमा पुगेका थिए । पार्टीगत उपस्थिति सामान्य हो तर शीर्ष नेतृत्वको सहभागिताले ठुलो अर्थ राख्छ । क्वात्राको विदाईमा बहालवाला प्रधानमन्त्री , पूर्व प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेतृत्वको यो शैली कुटनीति मर्यादा विपरीत मात्र नभई आफैमा लज्जास्पद भन्दै चौतर्फी आलोचना जारी छ ।
यो घटनाले वर्तमान सरकार भारतप्रति कति सम्म झुक्न सक्छ भन्ने पनि देखाएको छ । एउटा राजदूतको विदाइमा मुलुकको इज्जत र कुटनीतिक मर्यादालाई तिलाञ्जली दिएको यो घटना आफैमा लज्जास्पद छ । यो पछिल्लो एउटा उदाहरण मात्र हो । परराष्ट्र मामिला सञ्चालन र कुटनीतिक अभ्यासमा नेपाल कति कमजोर छ भन्ने एमसीसीलाई प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पठाएको पत्र, भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्वयं सत्तारुढ दल भाजपाको कार्यलयको भ्रमण र नेताहरुसँगको भेटघाट, प्रधानमन्त्री पत्नी आरजु राणको राखी कुटनीतिले थप छर्लङग बनाएको छ । मुलुकको अन्तराष्ट्रिय सम्बन्ध थप कमजोर बनाउन शीर्ष नेतृत्व नै उदत्त देखिएका छन ।
यो घटनाले मुलुकको कुटनीतिक क्षेत्र थप उदाङगिएको छ । विदाई गर्ने नहुने पक्कै होइन तर सामान्तय कुटनैतिक मर्यादाअनुसार विदाइ भएर जाने राजदूत प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय वा निवासमा समय मिलाएर जाने गर्दछन् । पूर्वप्रधानमन्त्रीहरुलाई पनि राजदूतले आवश्यक ठाने उनीहरुकै निवासमा वा कार्यालयमा भेट्न जान चलन छ । तर यहाँको अवस्था ठिक विपरीत भयो, अझ भनौं राजदूत क्वात्राले काम सकेर हिड्ने बेलामा पनि आफ्नो शक्ति प्रदर्शन गर्न सफल भए । भारतीय विदेश सचिव बन्ने क्रममा रहेका क्वात्राले नेपालका तीनजना प्रधानमन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर विदाइ लिए । तर हाम्रा नेतृत्व अझै पनि कुटनीतिक मर्यादाप्रति वेखबर छन । कुटनीतिमा कच्चा र लाचारपन प्रस्तुत गरेका छन् । फलत अन्तराष्ट्रिय स्तरमा नेपालको कुटनीतिक छवीमा थप सन्देह पैदा गरेको छ ।


प्रतिक्रिया