काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को टोलीले भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन र स्थानीय तह निर्वाचनबारे छलफल भएको छ । सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे तथा नेकपाका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए । भेटमा विशेषगरी सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति अनुसार विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे कुराकानी भएको थियो ।
नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्याउन आग्रह गरेका थिए । नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए । सरकारले यसअघि भएका पटक–पटकका वार्तामा नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । त्यसपछि नेकपाको केही दिनअघि कपिलबस्तुमा सम्पन्न बैठकले वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनलाई प्रयोग गर्ने निर्णय गरेको थियो । वार्तामा नेकपा बैठकको निर्णय अनुरुप निर्वाचनमा भाग लिएमा सहजीकरण गर्न सरकार तयार रहेको सरकारी पक्षले बताएको थियो ।
वार्तामा सरकारी पक्षले नेकपा निर्वाचनमा भाग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छुट मतदाता नामावली थप गर्न पहल गर्न सकिने बताएको थियो । सरकारी पक्षले स्थानीय निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले स्थानीय गाँउठाँउको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, जनतालाई शक्तिशाली बनाउने विकास र शक्तिको केन्द्र जनताको घर आँगन हुने हुँदा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनु उपयुक्त हुने भन्दै नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुन आफूहरू तयार रहेको बताएका थिए ।


प्रतिक्रिया