काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले २० वटा विद्युतीय सवारीसाधन किनेपछि त्यहाँभित्र कार्यरत सवारी चालकहरुले ती गाडी चलाउन आनाकानी गर्न थालेका छन् । विद्युतीय सवारी चलाउँदा पेट्रोलियम पदार्थ, मर्मतसम्भार तथा सर्भिसिङका क्रममा तलमाथि गर्न नपाउने र अतिरिक्त आम्दानी गुम्ने भएपछि चालकहरुले आनाकानी गर्न थालेको विवरणहरु बाहिर आएका थिए । इन्धन र मर्मतसम्भारका काममा बदमासी गर्न नपाइने देखेर केही चालकहरुले विद्युतीय सवारी आफूलाई नपार्न प्राधिकरणअन्तर्गतको ट्रेड युनियनसम्मलाई धाइरहेको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । ‘गाडी ल्याएर थन्काएर राखेको निकै दिन भइसक्यो । ती गाडी चलाउन चालकहरुले नै मानिरहेका छैनन् । ट्रेड युनियनका नेतासम्मलाई भन्न लगाएर उनीहरु पन्छिन खोजिरहेका छन्,’ प्राधिकरणका एक कर्मचारीले भने ।
तर चालकहरुले विद्युतीय सवारी चलाउन नमानेको भनेर बाहिर आएका विवरणहरुमा सत्यता नरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘यस्तो बुझाई गएको हुनसक्छ । त्यो गलत हो । चालकहरुले विद्युतीय सवारी चलाउँदैनौं भनेका छैनन् । उनीहरुले त्यस्तो भन्न पनि पाउन्नन्,’ उनले भने । प्राधिकरणले किनेका विद्युतीय गाडी कसले चढ्ने भन्ने टुंगो नलागेको तर सवारी चालक भएका कर्मचारीले आफै चलाउन चाहेमा त्यस्ता कर्मचारीलाई प्राथमिकतामा राखिएको पनि भट्टराईको बताए । ‘आफैं सवारी चलाउन सक्ने प्राधिकरणका उच्च कर्मचारीलाई दिने भनेका छौं । आफैं गाडी हाँक्न सक्ने म्यानेजर, डाइरेक्टरहरुलाई दिने भन्ने योजना छ ।


प्रतिक्रिया