देश

कागतीको भाउ आकाशियो एक दानाकै १५ रुपैयाँभन्दा बढी


काठमाडौँ — कागतीको भाउ आकाशिएको छ । अहिले खुद्रा बजारमा एक दाना कागतीकै १५ रुपैयाँभन्दा बढी पर्न थालेको छ । कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । बुधबारको मूल्य सूचीअनुसार कालीमाटीमा कागती प्रतिकिलो ३७५ रुपैयाँसम्म बिक्री भएको देखिन्छ । कालीमाटी तरकारी बजारका सूचना अधिकारीका अनुसार एक महिनाअघि सम्म कागती प्रतिकिलो डेढ दुई सय रुपैयाँसम्म बिक्री हुन्थ्यो ।

भारतमा कागतीको भाउ बढेकाले नेपालमा पनि त्यसको असर देखिएको बताए । नेपालमा कागतीको उत्पादन सिजनल मात्रै हुन्छ । यतिबेला आउने कागती सबै भारतकै हो । भारतमा नै भाउ बढेकाले यहाँ पनि बढेको होला,उनले भने ।भारतमा पनि पछिल्लो समय कागतीको भाउ निकै बढेको छ । इन्डिया टुडेका अनुसार दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ ।