देश

बुटवलको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस


काटमाडौँ — बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य सहित ८ जनाको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए । मेयरमा सिफारिस गरिएकाहरुमध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको छ । राना युवा, व्यवसायी र जनजाति समुदाय माझ लोकप्रिय नेता हुन् । भट्टराईद्वय लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन् ।

बाबुराम औषधि व्यवसायीसमेत हुन् भने सुर्यबहादुर यातायात र निजी शिक्षा व्यवसायी हुन् । केसी एमाले रुपन्देहीका अध्यक्ष हुन् । रेग्मी बुटवल उपमहानरपालिका प्रवक्ता एवं वडा नं १६ का वडा अध्यक्ष हुन् । ८ जनाको नाम सिफारिस भए पनि टिकट पाउन गोपाल राना, बाबुराम भट्टराई र शिवराज सुवेदीबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । तारे होटेलका सञ्चालकसमेत रहेका राना एमाले उपाध्यक्ष विष्णु पौडेलका निकट विश्वासपात्र हुन् । बाबुराम भट्टराई अध्यक्ष केपी ओली निकट मानिन्छन् भने शिवराज सुवेदी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेल निकटको मानिन्छन् ।