काठमाडौँ — सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई मानव हड्डीसहित विराटनरबाट पक्राउ गरेको छ । प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो । सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, घाँटी, हिप, ढाड, औंला र कुरकुच्चाका हड्डी गरी ४६ वटा मानव हड्डी बरामद गरेको हो ।
उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए । सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन् ।


प्रतिक्रिया