देश

मेलम्चीको पानी ९ पटक उद्घाटन


काठमाडौँ — मेलम्चीको पानी उद्घाटनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र कर्मचारीबाट गरी ९ पटक उद्घाटन गरेका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो । मन्त्रीले उद्घाटन गरेसँगै सुरुङभित्र प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी जाने गरी काम सुरु भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिए ।

गत असारमा भारी वर्षाका कारण बाढी र पहिरोबाट क्षति पुगेको आयोजना स्थलको मर्मतपछि काठमाडौं आउने सुरुङमा फेरि पानी पठाइएको हो । मन्त्री चौधरीले सुरुङमा पानी पठाए पनि कहिलेदेखि काठमाडौंमा पानी वितरण हुन्छ भन्ने निश्चित नभएको खानेपानी मन्त्रालयका पदाधिकारी बताउछन् । मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले मेलम्चीको पानी कहिलेसम्म काठमाडौंमा आइपुग्छ, कहिलेदेखि वितरणको काम हुन्छ त्यसबारे आयोजनाले जानकारी नगराएको बताए ।

सुरुङमा समस्या आयो भने ढिलो हुन सक्छ, समस्या आएन भने छिटो हुन पनि सक्छ । यो प्राविधिक कुरा प¥यो । अब पानी पठाउन सकिन्छ भनेर सामान्य रुपमा हामीलाई बिफ्रिङ भएको हो । प्राविधिक रुपले भोली स्मुथली पानी आउनपनि सक्छ, समस्या आउनपनि सक्छ । प्राविधिक काममा ठ्याक्कै यसो हुन्छ भन्न सकिँदैन । अब सुरुङमा पानी पठाउन सकिन्छ, पठाएर हेरौं भनेर आयोजनाका पदाधिकारीले भन्नुभएको थियो । यो दिनदेखि काठमाडौंमा पानी वितरण गर्न सकिन्छ भनेर उहाँहरुले कार्ययोजना दिनुभएको छैन् ।’

गत असार २ गते मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्य स्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुङ्गा, लेदो माटोयुक्त ग्रेथ्यानले आयोजना स्थल पुरेको थियो । आयोजनास्थलमा थुप्रिएको ग्रेग्यान हटाउनका लागि ३६ करोड बजेट छुट्टाईएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए । आयोजना स्थलसम्म पुग्ने अस्थायी बाटो बनाएर ३ महिना लगाई थुप्रिएको ग्रेग्यान हटाउने काम भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले चैत मसान्तभित्र काठमाडौंमा पानी ल्याउनेगरी काम गर्न बजेट विनियोजन गरेका थिए । सरकारले लिएको लक्ष्यभन्दा केही ढिलोगरी पानी पठान्तरको काम भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।