Breaking

प्रचण्ड–माधवलाई जिताउने ठेक्का काँग्रेसको,रुखमाथि हसियाँ हथौडा प्रहार


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध पाँच दलबीचको तालमेल चुनावी मैदानमा जाँदैछ । यसकारण एमालेका लागि आगामी निर्वाचन निकै कष्टकर देखिन्छ । तर काँग्रेसकै साथमा चुनाव जित्ने सपना बुनिरहेका प्रचण्ड–माधव पनि कति सुरक्षित भन्ने प्रश्न उब्जीएको छ । फलाम तातिएकै बेलाहथौडा चलाउन सकियो भने त्यसले आकार दिन्छ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गठबन्धनकै बलमा चुनावी तालमेलमा गएर रुखमाथि हसियाँ हथौडा चलाउने र आफ्नो भविष्य सुरुक्षित बनाउने तयारीमा छन् । ठ्याक्कै उनको जस्तो पारा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि छ । तरकाँग्रेसकै फेरोलाई समाएर निर्वाचनमा होमिएका उनीहरु कति सुरक्षित र कति बलिया प्रश्न अझै कठघरामा छ ।

पार्टीभित्रकै आन्तरिक मतभेद् र असन्तुष्टिलाई चिर्दै अन्ततः काँग्रेस पनि उनीहरुलाई बोकेरै जान तयार भएको छ । तर काँग्रेसकै नेताहरु प्रचण्ड–माधवलाई बोक्दाबोक्दा काँध गन्हाउन थालेपनिजसोतसो झेलिरहेको जवाफ दिन्छन् । यसको कारण भने, काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकादेखि एमसीसीमा साथ दिएका विषयसम्म जोडिएका छन् ।यद्यपी काँग्रेसको हेपाहा नजर प्रचण्ड–माधवले गठबन्धनभित्रै खेपिरहेका छन् ।विगतमा उग्र बामपन्थी र दक्षिणपन्थीको जुहारी खेल्दै आएका काँग्रेस–माओवादी एउटै थालीका भाग बसेका छन् ।मिल्नै नसक्ने दुईधुव्र एक ठाउँमा देखिएपनि यसलाई स्वार्थमा अडिएको सम्बन्धका रुपमा विश्लेषण गरिएको छ । किनकि उनीहरुबीचको अविश्वास यतिसम्म छ कि एकले अर्काेलाई गलाउनेदेखि तर्साउनेसम्मका काम गठबन्धनमा भइरहेका छन् ।

अहिले त माओवादी अध्यक्ष प्रचण्ड जसको नीति उसकै नेतृत्वमात्रै होइन, व्यवस्था बदलिऔं, अब अवस्था बदल्नुपर्छ भन्दै काँग्रेसलाई नै खेदाउने तयारीमा छन् । एक्लाएक्लै चुनावमा जाँदा अघिल्लो निर्वाचनमा करिब ४० प्रतिशत स्थानीय तह जितेको एमालेलाई हराउन कठिन हुने आकलन गरेपछि पाँच दल तालमेलमा गएका छन् । तर एकले अर्काे पार्टीलाई मत दिने सम्भावनामाथि पनि आशंका छ । यसकै फाइदा उठाएर विपक्षी एमाले चुनाव जित्ने दाउमा छ । एमाले अध्यक्ष ओलीको मुख्य नीति पनि चुनावी तालमेलपछि विच्किएकालाई साथमा लिएर चुनाव जित्ने खालको छ । लगाम लगाउनसक्ने कुनै आधार नभएका बेला कार्यकर्ताको भोट पार्टीको नियन्त्रणभन्दा बाहिर जानसक्छ ।

पार्टीभन्दा अन्यत्र भोट नहाल्ने कार्यकर्ता भएकै कारण काँग्रेसका लागि फाइदा नै हुनसक्छ । तर कमजोर पार्टी संरचनाभएका प्रचण्ड–माधवलाई निर्वाचन जित्नका लागि काँग्रेसको अधिकांश मत नआए हारको स्वाद चाख्नुपर्ने हुनसक्छ । यसैकारण उनीहरु काँग्रेससँगको तालमेलमा अझै विश्वासिलो आधार खोजिरहेका छन् । यदि सिंगो गठबन्धन एक भएको खण्डमा काँग्रेसकै बुउ चढेर चुनावको स्वर्णिम यात्रा पार गर्ने प्रचण्ड–माधवको सपना पुरा हुने मात्रै होइन, पाँच दलका अघि एमाले पत्तासाप हुनसक्ने आधार देखिन्छ । तर काँग्रेसमाथि चुलिएको अविश्वासका कारण एमालेसँग तालमेल गर्न जाने चेतावनी पनि आइरहेका छन् ।फलतः काँग्रेसकै बलमा एमाले हराउने र फेरि सत्तामा फर्किने प्रचण्ड–माधवको सुरक्षित अवतरण चुनौतीपूर्ण छ ।