Breaking

निर्वाचन आयोगमै होहल्ला, आचारसंहिता मान्न गएका दल नै हुलदंगामा,एमाले हस्ताक्षर नगरि बाहिरियो


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुलाई आचारसंहितामा बाध्नका लागि निर्वाचन आयोगले बोलाएको बैठकमा दलहरु नाराबाजीमा उत्रिएका छन् ।आयोगले ह्वीप चलाउन खोजेको र दलहरुबीच नै विभेद गरेको आरोपसहित उनीहरु आयोगविरुद्ध उत्रिएका हुन् । आसन्न स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामाथि राजनीतिक दलहरुको प्रतिवद्धता खोज्न मंगलबार बिहान आयोगले बैठक बोलाएको थियो । बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दललाई निम्तो थियो । तर आचारसंहिता पालनाको प्रतिवद्धता जनाउन पुगेका दलहरु नै आचारसंहितामा बस्न सकेनन् ।

निर्वाचन आयोगको बैठक कक्षमै आयोग र राजनीतिक दलका प्रतिनिधिबीच मुडभेडको अवस्था बन्यो । मुलतः बैठकको प्रारम्भमैआचारसंहिता पालनाका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न आयोगले आग्रह गरेपछि साना दलहरु त्यसको विरोधमा उत्रिए । आयोगले छलफलबिनै हस्ताक्षर गराउन थालेको भन्दै उनीहरु असन्तुष्टमात्रै देखिएनन्, आयोगमाथि अनेक प्रश्नहरु उठाए ।आयोगले ह्वीप चलाएको,निष्पक्ष नभएको र ठुला दलहरुलाई हेलिकप्टर प्रयोगदेखिचुनाव प्रचारमा मनपरी गर्न छुट दिएको आरोपसहित उनीहरु बैठकमै नाराबाजी गर्न उत्रिएका हुन् ।

बैठकमा सहभागी साना दलका नेताहरुलाई आयोगले हेपाहा प्रवृत्ति देखाएको आरोपसमेत उनीहरुले लगाएका छन् ।सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा चलेको भन्दै आयोगबाटै आचारसंहिता उल्लंघन भएको भन्दै कतिपय दलहरु बैठकबाटै बाहिरिए । उनीहरुले आफुलाई ल्याप्चे लगाउनमा मात्रै आयोगले बोलाएकोप्रति चित्त दुखाएका छन् । तनावपूर्ण अवस्थाकैबीच आयोगकोप्रतिवद्धतापत्रमा दलहरुले हस्ताक्षर गरेका छन् ।सत्ता गठबन्धनमा आवद्ध दलहरुले उत्साहका साथ हस्ताक्षर गरेपनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेकपा एमाले हस्ताक्षर नगरि बाहिरीएको छ । आचारसंहिता पालनाजस्तो गम्भीर विषयमा हुलदंगा भएको भन्दै एमाले त्यस्तो प्रक्रियामा सहभागी नभएको एमालेको भनाइ छ । बैशाख ३० मा निर्वाचन तोकिएपछि नै प्रमुख प्रतिपक्षसहितका दलहरु आयोगप्रति आक्रामक बन्दै आएका छन् ।