Breaking

आचारसंहिता कार्यान्वयनको आशंका आयोग भन्छ, यो पटक विशेष अनुगमन हुन्छ


काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिवद्धता जनाएका छन् । तर आचारसंहिताको कार्यन्वयनमा दलहरु इमान्दारपूर्वक लागि पर्नेमा भने संसय कायमै छ । स्थानीय तहको निर्वाचन आउन अब ३८ दिन मात्र बाँकी छ । मंगलबार निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता पत्रमा हस्तक्षर समेत गराई सकेको छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केहि बुँदामा केहि राजनीतिक दलहरुले आपत्ति जनाए पनि निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने सबै राजनीतिक दलहरुले प्रतिवद्धता भने जनाएका छन । निर्वाचनमा भाग लिन सबै साना–ठूला राजनीतिक दलहरु आफ्नो पार्टीले चुनावका बेला निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने दावी समेत गरेका छन ।

स्थानीय तह निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचार संहिता पूर्णतः कार्यान्वयन हुनेमा आशंका कायमै छ । निर्वाचन महंगिनु निर्वाचन आचारसंहिता ठाडो उलंघनको आधार हो । निर्वाचनका क्रममा हुने भोजभतेर, रातारात पैसा दिँदै भोट किन्न, मतदातालाई मतदानस्थलसम्म पुग्न नदिने प्रवृति, बुथ कब्जा जस्ता नजिर विगतको निर्वाचनले देखाएको छ । यद्यपि आयोग यो विषय स्वीकार गर्न तयार छैन । निर्वाचनमा आचारसंहिताका सवालमा यो पटक विशेष संयन्त्र नै बनाएर अनुगमन गर्ने आयोगको दावी छ । अर्कोतर्फ निर्वाचनको समयमा गाडी, मोटरसाइकल ¥याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि दलहरुले यस्ता गतिविधिलाई सामान्य मान्दै गरेका छन् ।