विदेश

निहुँ खोजे आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी


काठमाडौँ — उत्तर कोरियाले दक्षिण कोरियाले आफूलाई पूर्वसावधानीका नाममा उत्तेजित पार्ने काम गरे आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जङले मंगलबार विज्ञप्ति जारी गर्दै धेरै निहुँ खोजे आणविक हतियारले दक्षिण कोरियाले ध्वस्त पारिदिने चेतावनी दिएको समाचार संस्था एपीले उल्लेख गरेको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीबाट सार्वजनिक भएको जङको विज्ञप्तिमा उनले दक्षिण कोरियाका रक्षा मन्त्रीले हालै दिएको सावधानीका लागि हमला गर्न सकिने भन्ने अभिव्यक्ति दिवास्वप्न र पागलपन भएको बताएकी छन् । किम जोङ उनको शासनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने उनकी बहिनी जङ तीन दिनमा दक्षिण कोरियाप्रति दोस्रो पटक खनिएकी हुन् । उत्तर कोरियाले क्षेप्यास्त्रसहित हतियार परीक्षणलाई बढाइरहेका बेला दक्षिणप्रति यस्तो चेतावनी आएको हो । जङले कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले अर्को युद्ध नचाहेको भए पनि आक्रमण भए आणविक हतियारले जवाफ दिने बताएकी छन् । एजेन्सी