देश

५० रूपैयाँ अटो भाडा नदिँदा हत्या


काठमाडौँ — भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले साँझ करिब ६ बजे तिर फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न हिँडे । जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढी–२ बेहडीको रुवस होटल नजिक भयो । २४ वर्षीय राजेन्द्र से १ ह २८६६ नम्बरको अटोका चालक पनि हुन् । अटो रोकेर होटल नजिकैको कटेजमा ५०\ ५० रूपैयाँको मदिरा दुवैले खाए ।
त्यसपछि राजेन्द्रको कोठा धनगढी–५ सन्तोषी टोल हुँदै लागे, दुवै जना ।

रातको त्यस्तै ८:३० बजेको थियो । उनीहरू प्रदेशसभा भवन अगाडि पुगे । जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके । उनी जाने चाहिँ जालीगाउँ हो । राजेन्द्रले भने भाडा ५० रूपैयाँ लाग्छ है । कुलदिपले भने हुन्छ । केही सयममै उनीहरू पुगे, नैनादेवी चोक । त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदिपसँग भाडा मागे । जवाफमा कुलदिपले हिन्दीमा भने,– ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो ।’ यसपछि उनीहरूबीच विवाद भयो । विवाद गर्दै केराबारी पुगे । जुन धनगढी उपमहानगरपालिका–५ मा पर्छ ।

त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदिपलाई भने । तर, मानेनन् । नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदिपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५ ६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन् । त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ । ​कुलदिपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भई रहेको छ ।