देश

बन्दै गरेको पुल भत्कियो, तीन करोड बराबरको क्षति


काठमाडौँ — सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ । आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेको उनले बताए । निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।