काठमाडौँ – पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक पुग्ने क्रम सुरु भएको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । विश्वको सर्वाेच्च शिखदर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा विदेशी पर्यटक आगमन सुरु भएको छ ।
वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने विशेष गरी विदेशी पर्यटकहरुको चहलपहल सुरु भएको हो । खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।
कोरोना महामारीका कारण दुर्य वर्षदेखि खुम्बु क्षेत्र लगभग सुनसान नै थियो । अहिले धमाधम पर्यटक आउन थालेपछि खुम्बुमा चहलपहल बढेको पर्यटन स्थानीयहरु बताउँछन् । अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको छ ।
लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । पर्यटक बढेसंगै ट्रेकिङ तथा होटल व्यवसायमा स्थानीयले रोजगारी पाएका छन् । होटल व्यवसाय पुन तंग्रिएको छ । लामो समयदेखि होटल बन्द गरेर घरमै रहेका व्यवसायीहरु खुम्बुका माथिल्लो क्षेत्रका होटल तथा लजहरुमा पर्यटक आगमनको पर्खाइमा छन् ।
दुई वर्षको क्षति पुर्ति नभएपनि व्यवसाय पुन लयमा फर्किएको उनीहरुको भनाई छ । लगातार दुई वर्षसम्म हिमाल आरोहण प्रभावित बनेको थियो । यस वर्ष सगरमाथासहित हिमाल आरोहणका लागि समेत समय अनुकुल बनेको छ ।
एक्सपीडिशन कम्पनीहरुले आरोहणसंग सम्वन्धीत सामग्रीहरु अहिले धमाधम सगरमाथा आधारशिविर पुर्यारहेका छन् । यस पटक सगरमाथासहित आधा दर्जन हिमाल आरोहणका लागि ५ सय भन्दा बढि आरोहीहरु तयारीमा छन् । ट्रेकिङका लागि समेत विभिन्न देशबाट पर्यटकहरु आगमनका लागि होटलहरु बुक गरिरहेका छन् ।
कोरोना प्रभाव कम हुँदै गएपछि अधिकांश देशले विदेश यात्रा खुलाइसकेका छन् । नेपालमा पनि विदेशबाट आउनेहरुका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाएपछि पर्यटकहरुको आगमन रुची बढेको छ ।


प्रतिक्रिया