विदेश

सलमान खानलाई पूर्व प्रेमिकाको धम्की


काठमाडौँ — बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले उनलाई बलिउडको हार्वी वीनस्टीन भएको आरोप लगाएकी छन् । साथै उनले सलमानको सत्यता खुलाउने धम्की समेत दिएकी छन् । पिंक भिलाका अनुसार सलमान विभिन्न समयमा संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय जस्ता अभिनेत्रीसँग प्रेम सम्बन्धमा थिए । उनले ऐश्वर्यालाई कुटपिट गर्ने गरेको पनि खुलासा भएको थियो । हालै उनकी पूर्व प्रेमिका सोमीले पनि यस्तै आरोप लगाएकी हुन् ।

सोमीले ‘मैने प्यार किया’को एक दृश्यको स्क्रिनसट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलिउडको हार्वी वीनस्टीन, एक दिन तिम्रो पनि पर्दाफाश हुनेछ । जो महिलाहरूलाई तिम्ले दुर्व्यवहार गर्‍यौ, एकदिन उनीहरूले सबै सत्य खुलाउने छन् । जसरी ऐश्वर्या राय बच्चनले बोलिन्, अरू पनि बोल्नेछन् ।’ हार्वी वीनस्टीन हलिउडको चर्चित निर्माता हुन्। उनलाई ‘मीटु अभियान’ मार्फत महिलाहरूलाई दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, यौनशोषण गर्ने आरोप लागेको थियो । उनीविरूद्ध हलिउडका केही चर्चित अभिनेत्रीसहित करिब एक सय बढी महिलाहरूले यौन शोषणको आरोप लगाएका थिए ।